
आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसोतिर ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि प्रदेश एक, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । शनिवारदेखि देशैभरी मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
त्यस्तै बाढी पूर्वानुमान महाशाखाले दाङको देउखुरी क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो ३ घण्टादेखि उक्त क्षेत्रमा भारी वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ। उक्त क्षेत्र भई बहने स(साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा दिउँसोसम्मै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।