बिहिबार, साउन १०, २०८१

बाँकेमा आतङ्क मच्चाइरहेको बाघ नियन्त्रण गर्न खटियो प्राविधिक टोली

बाँके २८ पुस । बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ ।बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली हिजो बेलुका राप्तीपारि पुगेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीमा तीन जना प्राविधिक कर्मचारी छन् । बाघलाई नियन्त्रण गर्नका लागि टोली राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा पुगिसकेको छ । फत्तेपुरको मेमानपुरमा रहेको सबडिभिजन वन कार्यालयमा शिविर खडा गरेर प्राविधिक टोली बाघ नियन्त्रणको काममा खटिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख कँडेलको भनाइ छ ।प्राविधिक टोलीलाई डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी, सशस्त्र वनरक्षक तथा नेपाली सेनाले पनि सहयोग गर्नेछन् । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत चार दिनदेखि राप्तीपारि क्षेत्रमा दुईवटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघ नियन्त्रणमा नआउँदा राप्तीपारिका स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । बाघको आक्रमणबाट शनिवार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारू र बिहीवार राप्ती सोनारी–४ पर्सोनाकी ५३ वर्षीया लीला विष्टको ज्यान गएको थियो ।

बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी–१ गाभर र नरैनापुरमा एक–एक जनाको ज्यान गएको थियो । बाघले विगत एक हप्तादेखि राप्तीसोनारीको बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77