शनिबार, बैशाख १, २०८१

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदै

१ असार ।विद्यालय तहको नयाँ शैक्षिक सत्र आज(मंगलवार)देखि देशभर सुरु हुँदै छ ।विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको हो । कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणमा भने सजिलो हुने भएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले आजदेखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने बताउनुभयो ।अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेकीकरण कार्य विद्यालयले गर्ने उहाँको भनाइ छ । असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ । विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइनेछ । विद्यालयले आफ्नो नजिकको बिक्रेताबाट खरिद गरेर विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराईने छ।

 

यसअघि सरकारले जेठभित्र सबै कार्य पूरा गरी असार १ बाट नयाँ शैक्षिक सत्र प्रारम्भ गरिने भएकाले सोहीअनुसार तयारी गर्न सबै विद्यालयलाई निर्देश गरेको थियो । कक्षा ११ को पठनपाठन भने भदौबाट सुरु हुँदै छ ।विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य पूरा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77